२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

कैलालीको अत्तरियामा आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन कार्यक्रम (Managing Risk through Economic Development–MRED) एमरेड परियोजना अन्तर्गत सर्पको पहिचान तथा उद्धारसम्बन्धी दुई दिने तालिम सुरु भएको छ। मर्सी कोर र सेवक नेपालको साझेदारीमा आयोजित तालिम गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको हो।
तालिमको उद्घाटन गोदावरी नगरपालिकाका नगर उपप्रमुखले गर्नुभएको हो। कार्यक्रममा गोदावरी नगरपालिका–१२ का वडा अध्यक्ष भीमबहादुर खड्का, विपद् व्यवस्थापन शाखा प्रमुख शुलचना खड्कालगायत जनप्रतिनिधि, गोदावरी तथा घोडाघोडी नगरपालिकाका नगर प्रहरी र स्थानीय समुदायका सहभागीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै कार्यक्रम संयोजक सुरेन्द्र बहादुर ठगुन्नाले सर्पको सही पहिचान तथा सुरक्षित उद्धारका लागि स्थानीयस्तरमै दक्ष जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो। सर्पलाई अनावश्यक रूपमा मार्ने प्रवृत्ति न्यूनीकरण गर्दै मानव र सर्प दुवैको सुरक्षा सुनिश्चित गर्न तालिम उपयोगी हुने उहाँको भनाइ छ।
यस्तै, नगर उपप्रमुखले सर्पबाट हुने जोखिम न्यूनीकरणसँगै जैविक विविधता संरक्षणमा समेत तालिमले सहयोग पुग्ने बताउनुभयो। उहाँले सर्प उद्धारका लागि नगर प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

सुदूरपश्चिम- रसुवामा हालै आएको विनाशकारी बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकका लागि सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबले रु. १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समाजले पीडित परिवारप्रति समवेदना व्यक्त गरेको जनाएको छ।
मातृभूमिमा आएको विपत्तिमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले साउदी अरबमा राहत संकलन अभियान सञ्चालन गरेको थियो। साउदी अरबमा कार्यरत नेपाली, समाजका पदाधिकारी तथा सदस्य र विभिन्न सहयोगी दाताहरूबाट स्वस्फूर्त रूपमा संकलित रकममध्ये रु. १ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका सचिव केशब सिंह धामीले जानकारी दिए।
समाजले स्थापना कालदेखि नै साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा नेपालमा हुने विभिन्न प्राकृतिक विपत्तिका समयमा पीडितलाई आर्थिक सहयोग गर्दै आएको जनाएको छ।
समाजले आगामी दिनमा पनि विपद् तथा समस्यामा परेका नेपालीको सहयोगका लागि मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कैलाली- नेपाली कांग्रेस गोदावरी नगर कमिटीले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ।
नेपाली कांग्रेस गोदावरी नगर कमिटी सचिव योगेश भट्टका अनुसार विगत दुई वर्षदेखि ‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ भन्ने मूल नाराका साथ गोदावरी क्षेत्रमा विभिन्न सामाजिक तथा जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको कांग्रेसले यस वर्ष रसुवा बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो।
भट्टले नेपाली कांग्रेस हिजो पनि जनताको पक्षमा रहेको, आज पनि जनताकै पक्षमा रहेको र भोलिका दिनमा पनि जनताको सुख–दुःखमा साथ दिइरहने बताए। विपद्को समयमा पीडित नागरिकलाई राहत पु¥याउने उद्देश्यले कोषमा आर्थिक सहयोग गरिएको उनले जानकारी दिए।
सहयोग अभियानमा साथ दिने पार्टीका अग्रज नेतागण, नेता–कार्यकर्ता, साथीभाइ तथा शुभेच्छुकहरूप्रति सचिव भट्टले हृदयदेखि धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्तै सामाजिक तथा मानवीय अभियान सञ्चालन गर्न सबैको साथ र सहयोगको अपेक्षा रहेको उनले बताए।

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–४ मा रहेको चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलले श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा बिहीबार विद्यालय परिसरमा विविध कार्यक्रम आयोजना गरेको छ।
श्रीकृष्ण जन्माष्टमीलाई विशेष र उत्सवमय बनाउने उद्देश्यले विद्यालयमा श्रीकृष्ण रथयात्रा, सांस्कृतिक कार्यक्रम, कृष्णलीला तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, चरित्र, आदर्श र शिक्षासँग सम्बन्धित विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।
रथयात्रामा विद्यार्थीहरू श्रीकृष्ण तथा राधाको भेषमा सजिएर सहभागी भएका थिए। धार्मिक तथा सांस्कृतिक झाँकीसहित गरिएको रथयात्राले विद्यालय परिसरमा छुट्टै उत्साह र उमंग थपेको थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
त्यस्तै, सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, अभिनय तथा कृष्णलीलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। भगवान् श्रीकृष्णको बाल्यकाल, उहाँका विभिन्न लीला तथा जीवनसँग जोडिएका प्रसङ्गलाई विद्यार्थीहरूले सिर्जनात्मक ढंगले प्रस्तुत गर्दा उपस्थित शिक्षक, अभिभावक तथा विद्यार्थीहरू उत्साहित बनेका थिए।
कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गरिएको थियो। यस्ता गतिविधिले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
विद्यालयले बालबालिकालाई नियमित शैक्षिक गतिविधिसँगै नेपाली मौलिक कला, संस्कृति, परम्परा र धार्मिक मूल्य–मान्यतासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
विद्यार्थीहरूको प्रतिभा, संस्कृतिप्रतिको सम्मान र भक्तिभावले भरिएको उक्त विशेष कार्यक्रमले विद्यालय परिसरलाई उल्लासमय बनाएको थियो। श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्दै आपसी सद्भाव, प्रेम र सकारात्मक सोचको सन्देशसमेत दिएको छ।

कैलाली- घोडाघोडी नगरपालिका–पहलवानपुरमा रहेको कलम बम मेमोरियल स्कुल(KBM School) मा भगवान् श्रीकृष्णको जन्मोत्सवको पूर्वसन्ध्यामा बिहीबार श्रद्धा, भक्ति, उल्लास र उत्साहपूर्ण वातावरणमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, आदर्श, प्रेम, सत्य, करुणा, सदाचार तथा मानवताका सन्देशलाई विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिमार्फत जीवन्त रूपमा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले गीत, नृत्य, अभिनयलगायतका आकर्षक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूले भगवान् श्रीकृष्णका प्रेरणादायी जीवनदर्शन तथा उहाँले दिनुभएको सकारात्मक सन्देशलाई प्रस्तुत गर्दै धार्मिक तथा सांस्कृतिक चेतनासमेत प्रदर्शन गरेका थिए।
विद्यालयले यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृति, परम्परा र मौलिक संस्कारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। साथै, यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन तथा सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको भनाइ छ।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै नेपाली मौलिक संस्कृति, परम्परा र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कैलाली- कैलालीको गोदावरी नगरपालिका–अत्तरिया क्षेत्रमा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा पहिरोका कारण प्रभावित भएका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले पुस्तकालयको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्को समयमा पीडित परिवारको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै पुस्तकालयले आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा नागरिकले सहयोग गर्दै आएका छन्। सोही अभियानअन्तर्गत प्रतिभा सामुदायिक पुस्तकालयले पनि सहयोग गरेको हो।
पुस्तकालयले विपद्को कठिन समयमा पीडित परिवारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउन सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गरेको छ। पुस्तकालयको यो सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सुदूरपश्चिम- गत भदौ १० गते रसुवामा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री राहत कोषमा रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम जम्मा गरेको छ।
भदौ १० गते आएको बाढीपहिरोले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै धेरै परिवार प्रभावित भएका थिए। विपद्का कारण घर, सम्पत्ति तथा भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।
यसैक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले पनि विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो। प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वासका साथ आर्थिक सहयोग गरिएको समाजले जनाएको छ।
समाजले प्राकृतिक विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ। बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत निरन्तर सहयोग आवश्यक रहेको समाजको भनाइ छ।
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिबाट प्राप्त रु. १ लाख १ हजार सहयोगले रसुवाका बाढीपहिरो प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सञ्चालन भइरहेको अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

अत्तरिया,कैलाली- vगत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायतका जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको अत्तरियास्थित होलील्यान्ड एकेडेमी सेकेन्डरी स्कुलले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ।
विद्यालयका अध्यक्ष मानबहादुर चन्द र प्रधानाध्यापक मदनराज रेग्मीद्वारा जारी विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ।
त्यस्तै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फसेका नागरिकको सुरक्षित उद्धार, प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा विद्यालयले जोड दिएको छ।
विद्यालयले विपद् कुनै व्यक्ति वा समुदायको मात्र समस्या नभई सबैको साझा चुनौती भएकाले मानवीय सेवामा हातेमालो गर्न व्यक्ति, संघ–संस्था तथा समुदायलाई समेत आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेको छ।

धनगढी- प्राकृतिक विपद्का कारण प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धनगढी उपमहानगरपालिका–१३, मोहनपुर स्थित विद्या भूषण पब्लिक स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन परिस्थितिमा पीडित तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले मानवीय सेवाको भावनासहित उक्त रकम सहयोग गरेको हो। विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्ने अभियानमा सहभागिता जनाएको जनाएको छ।
प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा नागरिकले जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै विद्यालय परिवारले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ। विद्यालयका अनुसार सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई राहत पुग्ने विश्वासका साथ कोषमा रकम जम्मा गरिएको हो।
विद्यालयले विपद्को समयमा एकअर्काप्रति सहयोग, सहकार्य र मानवीय संवेदना आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्या भूषण पब्लिक स्कुल परिवारले उक्त अभियानमा सहयोग तथा सहकार्य गर्ने सम्पूर्ण महानुभावप्रति धन्यवाद तथा आभारसमेत व्यक्त गरेको छ।

अत्तरिया- गत भाद्र १० गते भोटेकोशी, रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भारतका विभिन्न शहरमा कार्यरत नेपाली युवाहरूले आर्थिक सहयोग गरेका छन्।
प्रवासमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आएका नेपाली युवाहरूको समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ हजार ४४० रुपैयाँ सहयोग गरेको हो। विपद्को समयमा राज्य र प्रभावित नागरिकलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ भन्ने भावनासहित उक्त रकम सहयोग गरिएको समूहले जनाएको छ।
समृद्धि युवा बचत समूहका अध्यक्ष तपराज बिष्टका अनुसार समूहका पदाधिकारी तथा सदस्यहरूको सहकार्य, सल्लाह र सहमतिमा राहत कोषमा सहयोग गरिएको हो। उनले रकम सानो भए पनि विपद्मा परेका परिवारका लागि केही राहत पुग्ने विश्वास व्यक्त गरे।
“हामी जहाँ रहे पनि देश र देशवासीप्रतिको माया र जिम्मेवारी उत्तिकै हुन्छ। हाम्रो सानो सहयोगले पनि विपत्तिमा परेका परिवारलाई केही राहत पुग्छ भन्ने विश्वासका साथ सहयोग गरेका हौँ,” अध्यक्ष बिष्टले भने।
उनले विपद्को समयमा सरकारले गरेको सहयोगको अपिललाई सबैले आफ्नो सामाजिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए। साथै, समूहले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आफूहरूले सक्ने सहयोगलाई निरन्तरता दिने बताए।
पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संस्था र समूहले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्दै आएका छन्। सरकारले समेत विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गर्दै आएको छ।
प्रवासी युवाहरूको यो सहयोगले देशभन्दा टाढा रहे पनि मातृभूमि र विपद्मा परेका नागरिकप्रतिको जिम्मेवारी तथा मानवीय संवेदनालाई निरन्तरता दिन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।