सुदूरपश्चिम- रसुवामा हालै आएको विनाशकारी बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकका लागि सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबले रु. १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समाजले पीडित परिवारप्रति समवेदना व्यक्त गरेको जनाएको छ।
मातृभूमिमा आएको विपत्तिमा सहयोग पुर्याउने उद्देश्यले समाजले साउदी अरबमा राहत संकलन अभियान सञ्चालन गरेको थियो। साउदी अरबमा कार्यरत नेपाली, समाजका पदाधिकारी तथा सदस्य र विभिन्न सहयोगी दाताहरूबाट स्वस्फूर्त रूपमा संकलित रकममध्ये रु. १ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका सचिव केशब सिंह धामीले जानकारी दिए।
समाजले स्थापना कालदेखि नै साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा नेपालमा हुने विभिन्न प्राकृतिक विपत्तिका समयमा पीडितलाई आर्थिक सहयोग गर्दै आएको जनाएको छ।
समाजले आगामी दिनमा पनि विपद् तथा समस्यामा परेका नेपालीको सहयोगका लागि मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











