कैलाली- कैलालीको गोदावरी नगरपालिका–अत्तरिया क्षेत्रमा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा पहिरोका कारण प्रभावित भएका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले पुस्तकालयको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्को समयमा पीडित परिवारको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै पुस्तकालयले आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा नागरिकले सहयोग गर्दै आएका छन्। सोही अभियानअन्तर्गत प्रतिभा सामुदायिक पुस्तकालयले पनि सहयोग गरेको हो।
पुस्तकालयले विपद्को कठिन समयमा पीडित परिवारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउन सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गरेको छ। पुस्तकालयको यो सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।











