२०८३ भाद्र २७ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २७ शनिबार

भाद्र ३ अत्तरिया —
अत्तरिया चोकमा सडक तथा फुटपाथ अतिक्रमणको समस्या वर्षौंदेखि ज्यूँका त्यूँ रहेको छ। तरकारी, फलफूल तथा फास्टफुडका ठेला व्यवसायीहरूले दिउँसो अन्यत्र ठेला राखे पनि साँझपख भने महेन्द्रनगर रोड आसपासमा पुनः ठेला राखेर व्यापार गर्ने क्रम बढ्ने गरेको छ।
साँझको समयमा ठेला थपिएसँगै अत्तरिया चोक आसपासमा भिडभाड बढ्ने गरेको छ। त्यसमाथि विभिन्न पसलेहरूले फुटपाथमै सामान राख्दा पैदल यात्रु फुटपाथ प्रयोग गर्नबाट वञ्चित हुने गरेका छन्। फलस्वरूप उनीहरू सवारीसाधन गुड्ने सडकबाटै हिँड्नुपर्ने बाध्यतामा छन्।
व्यस्त समयमा सवारीसाधन र पैदल यात्रु एउटै सडकबाट आवतजावत गर्नुपर्ने अवस्थाले दुर्घटनाको जोखिमसमेत बढाएको छ। वर्षौंदेखि समस्या दोहोरिँदै आए पनि यसको दीर्घकालीन समाधान हुन नसकेको स्थानीयको गुनासो छ।
बजार व्यवस्थापनका लागि बजार व्यवस्थापन समिति, गोदावरी नगरपालिका, अत्तरिया उद्योग वाणिज्य संघ तथा ट्राफिक प्रहरी कार्यालय लगायतका सम्बन्धित निकायले समन्वय गरेर ठेला व्यवसायलाई निश्चित स्थानमा व्यवस्थापन गर्ने, फुटपाथ खाली गराउने र साँझपख हुने अव्यवस्थित भिड नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ।
व्यवसायीलाई विस्थापित गर्नेभन्दा पनि व्यवस्थित स्थान उपलब्ध गराएर व्यापार गर्ने वातावरण बनाउने र पैदल यात्रुका लागि फुटपाथ सुरक्षित राख्ने नीति आवश्यक देखिन्छ। तर समस्या वर्षौंदेखि कायम रहँदा सम्बन्धित निकायको नियमित अनुगमन र प्रभावकारी व्यवस्थापनमाथि प्रश्न उठेको छ।
दुर्घटनाको जोखिम बढ्दै जाँदा सम्बन्धित निकायले अब पनि मूकदर्शक बन्ने कि अत्तरिया चोकको सडक र फुटपाथ व्यवस्थापनका लागि ठोस कदम चाल्ने? स्थानीयको चासो यही प्रश्नमा केन्द्रित छ।

भदौ ३ कञ्चनपुर-
भारतमा रोजगारीका क्रममा सिकेको सीपलाई स्वदेश फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ७१ वर्षीय कजैराज जोशी विगत ३१–३२ वर्षदेखि चाउमिन उत्पादन तथा बिक्री–वितरणमा सक्रिय छन्।
पुख्र्यौली घर दार्चुलाको शैल्यशिखर नगरपालिका–८, झारकाडा भएका जोशीले भारतमा काम गर्दा सिकेको सीप र अनुभवलाई आधार बनाएर स्वदेशमै चाउमिन उत्पादन सुरु गरेका हुन्। सुरुवाती दिनमा सीमित स्रोत–साधन र विभिन्न चुनौतीको सामना गर्नुपरे पनि उनले निरन्तर मेहनत र संघर्षका साथ व्यवसायलाई अघि बढाउँदै आएका छन्।
जोशीले चाउमिन उत्पादनमा सकेसम्म अर्गानिक तथा गुणस्तरीय सामग्री प्रयोग गर्दै आएको बताएका छन्। आफ्नै हातले उत्पादन गर्दै आएका उनले उत्पादनको गुणस्तर र ग्राहकको विश्वासलाई व्यवसायको मुख्य आधार बनाएका छन्।
यही व्यवसायबाट परिवारको घरखर्च चलाउनुका साथै सन्तानलाई उच्च शिक्षा प्रदान गर्न र घर–जमिन जोड्न सफल भएको उनले बताए। चाउमिन व्यवसायबाटै एक छोरालाई सब–इन्जिनियर र अर्का छोरालाई टेक्निसियन पढाउन सफल भएको उनले बताए। उनका दुवै छोराले अध्ययनपछि रोजगारीसमेत प्राप्त गरिसकेका छन्।
विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ,’ जोशीले भने।
उनका अनुसार पछिल्लो समय धनगढी, अत्तरिया लगायत विभिन्न स्थानबाट समेत ग्राहक चाउमिन खरिद गर्न आउने गरेका छन्। लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका कारण आफू र ग्राहक दुवै सन्तुष्ट रहेको उनले बताए।
थोरै लगानी र मेहनतका साथ कामलाई निरन्तरता दिन सके स्वदेशमै स्वरोजगार बन्न सकिने उनको भनाइ छ।
७१ वर्षको उमेरमा समेत व्यवसायमा सक्रिय जोशीको तीन दशक लामो यात्रा मेहनत, संघर्ष र आत्मनिर्भरताको उदाहरण बनेको छ। भारतमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्दै उनले आफ्नो व्यवसायबाट परिवारको आवश्यकता पूरा गर्नुका साथै सन्तानको शिक्षादेखि घर–जमिन जोड्नेसम्मको यात्रा तय गरेका छन्।

भाद्र ०३ कैलाली –
कैलालीको गोदावरी नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको माग गर्दै स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन्।
छाडा पशु चौपायाको समस्या समाधानको माग लिएर नगरपालिका पुगेका स्थानीयलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भेटेर समस्या सुन्न समय नदिएपछि उनीहरू आक्रोशित भएका हुन्।
आक्रोशित स्थानीयले छाडा पशु चौपाया व्यवस्थापन गर्न दबाब दिँदै गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा देवी रोकायाको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
स्थानीयका अनुसार नगर क्षेत्रमा छाडा पशु चौपायाको समस्या दिनप्रतिदिन बढ्दै गए पनि नगरपालिकाले प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन। छाडा पशु चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै किसानका बालीमा समेत क्षति पुगिरहेको उनीहरूको गुनासो छ।
समस्या समाधानको माग गर्दै नगरपालिका पुगेका स्थानीयसँग छलफल गर्नुको सट्टा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले समय नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीयको भनाइ छ।
स्थानीयले तत्काल छाडा पशु चौपायाको व्यवस्थापन गरी समस्या समाधान गर्न नगरपालिकासँग माग गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।