२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

अत्तरिया — ‘सबैका लागि शिक्षा’ भन्ने मूल नाराका साथ समता एजुकेसन फाउण्डेसन काठमाडौंद्वारा सञ्चालित समता स्कुलले सामाजिक भावनालाई केन्द्रमा राख्दै सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले पनि सहज रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सञ्चालनमा आएको विद्यालय अहिले आफ्नै भवनसम्मको यात्रामा पुगेको छ।
विद्यालयको यो यात्रा केवल भौतिक संरचना निर्माणको कथा होइन, दृढ इच्छाशक्ति, इमानदारी, जिम्मेवारी र महिला नेतृत्वको प्रेरणादायी उदाहरण पनि हो। अत्तरियास्थित समता स्कुलकी प्रधानाध्यापक रितु पाण्डेय शाहुको नेतृत्वमा विद्यालयले अनेकौँ चुनौती पार गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
भाडाको भवनबाट सुरु भएको विद्यालयको यात्रा सहज थिएन। सीमित स्रोतसाधन, व्यवस्थापकीय चुनौती र विभिन्न कठिन परिस्थितिका बीच पनि विद्यालयलाई निरन्तर अघि बढाउने जिम्मेवारी शाहुले सम्हालिन्। विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच समन्वय गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न निरन्तर मेहनत गरिन्।
विद्यालयको आफ्नै संरचना निर्माण गर्ने क्रममा समेत उनले थुप्रै चुनौतीको सामना गर्नुपर्‍यो। एक ठाउँमा विद्यालयको १२ कोठे भवन निर्माणका लागि जगसमेत हालिएको थियो। तर परिस्थितिका कारण उक्त स्थानबाट हट्नुपर्दा निर्माण कार्य अघि बढ्न सकेन। निर्माणमा भएको खर्चसमेत आफैंले व्यहोर्नुपरेको पीडा शाहुसँग छ।
“संघर्षको कहानी कति हो कति, भन्न पनि नसकिने, सुन्नेलाई पनि दिक्क लाग्ला। एक ठाउँबाट त लखेटिएकै थिएँ, जहाँ स्कुलको १२ कोठाको जग हालिएको थियो। त्यो त्यत्तिकै छोडियो, त्यसको खर्च मैले तिर्नै पर्‍यो,” उनी आफ्नो संघर्ष सम्झँदै भावुक हुन्छिन्।
तर त्यही कठिनाइले उनलाई रोक्न सकेन। बरु चुनौतीलाई अवसरमा बदल्दै उनी निरन्तर अघि बढिन्। भाडाको भवनबाट आफ्नै भवनसम्मको यात्रा तय गर्नु उनको व्यक्तिगत सफलता मात्र नभई विद्यालयसँग जोडिएका शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूको सामूहिक विश्वासको परिणाम पनि हो।
समता स्कुलले शिक्षालाई केवल नाफामुखी व्यवसायका रूपमा नभई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको छ। सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई समेत शिक्षाको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
विशेषगरी महिला नेतृत्वले जिम्मेवारी सम्हाल्दा विद्यालय व्यवस्थापनमा इमानदारी, अनुशासन, संवेदनशीलता र साहसलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने उदाहरणका रूपमा रितु पाण्डेय शाहुको नेतृत्वलाई लिन सकिन्छ। कठिन परिस्थितिमा पनि हार नमान्ने, समस्याबाट भाग्नुको सट्टा समाधान खोज्ने र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर अघि बढ्ने उनको कार्यशैली धेरैका लागि प्रेरणाको विषय बनेको छ।
आज समता स्कुल आफ्नै भवनमा उभिँदै गर्दा त्यसका भित्तामा केवल इँटा र सिमेन्ट मात्र छैनन्, वर्षौँको संघर्ष, त्याग, पसिना र सपनाको कथा पनि जोडिएको छ।
भाडाको भवनबाट सुरु भएको यात्रा आफ्नै भवनसम्म आइपुग्नुले एउटा महत्वपूर्ण सन्देश दिएको छ—इमानदार प्रयास, जिम्मेवारीबोध, साहस र निरन्तर संघर्षका अगाडि कठिनाइहरू पनि एक दिन हार्छन्।
रितु पाण्डेय शाहुको नेतृत्वमा समता स्कुलले तय गरेको यो यात्रा अत्तरियाको शैक्षिक क्षेत्रमा मात्र होइन, महिला नेतृत्व र सामाजिक भावनाबाट सञ्चालन हुने शिक्षण संस्थाका लागि समेत प्रेरणादायी उदाहरण बनेको छ।

कृष्णपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, देखतभुली रोडस्थित बाणी बजारमा रहेको प्रनिशा फार्मेसीले स्थानीय बासिन्दालाई लक्षित गर्दै भदौ महिनाभर हरेक आइतबार निःशुल्क स्वास्थ्य जाँच सेवा सञ्चालन गर्ने भएको छ।
फार्मेसीले स्वास्थ्य सेवामा स्थानीयको सहज पहुँच बढाउने उद्देश्यले हरेक आइतबार चिकित्सकीय सेवा उपलब्ध गराउन लागेको जनाएको छ। उक्त अवसरमा डा. प्रकाश कार्कीबाट सेवाग्राहीको स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिनेछ।
स्थानीय स्तरमै चिकित्सकबाट स्वास्थ्य जाँच तथा परामर्श पाउने भएपछि सामान्य स्वास्थ्य समस्या भएका तथा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन चाहने सर्वसाधारणलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रनिशा फार्मेसीले भदौ महिनाका प्रत्येक आइतबार सञ्चालन हुने निःशुल्क स्वास्थ्य जाँच सेवामा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण सेवाग्राही तथा स्थानीय बासिन्दालाई आग्रह गरेको छ।
फार्मेसीले समयमै स्वास्थ्य परीक्षण गर्ने बानीको विकाससँगै स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न पनि यस प्रकारको सेवा उपयोगी हुने विश्वास लिएको जनाएको छ।

अत्तरिया — बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा कैलालीको अत्तरियामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।
बालिकामाथि भएको जघन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिमालाई न्याय दे’छोरी मार्न पाइँदैन‘दोषी बचाउने सरकार खबरदार’बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले बालिका गरिमाको हत्या घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै राज्यले कडा कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरा निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनी भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको जनाएको छ । बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति देशभर आक्रोश बढ्दै गएको छ भने दोषीलाई कडा कारबाहीको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् ।
अत्तरियामा भएको प्रदर्शनमार्फत सहभागीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।

कैलाली — भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले स्थानीय तहले आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताएकी छन्।
कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मन्त्री रावलले अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण र समन्वय गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताइन्।
उनले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि प्राथमिकतामा राखेर प्रभावकारी रूपमा काम गर्न स्थानीय तहलाई आग्रह गरिन्।
यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा सहभागी
मन्त्री रावलले सरकारले ६०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको जानकारी दिइन्। उनले जिल्लाका सबै स्थानीय तहमा रहेका भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न समितिलाई निर्देशन दिइन्।
भूमि समस्या समाधानका लागि आवश्यक स्रोतसाधन तथा जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री रावलले स्थानीय तह, जिल्ला समिति र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।
भूमि समस्या समाधान समिति कैलालीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लामा चाँडै लालपुर्जा वितरण गर्ने तयारीका विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार मन्त्री रावल कैलाली र कञ्चनपुरमा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका रहेको छ।

पुर्नवास- कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा रहेको टाउन हस्पिटल प्रा.लि. विशेषज्ञ उपचार तथा चौबिसै घण्टा स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्र बन्दै गएको छ।
हस्पिटलले विगत लामो समयदेखि प्रत्येक महिना विभिन्न विधाका विशेषज्ञ चिकित्सकमार्फत नियमित विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएपछि पुनर्वास तथा आसपासका क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता समेत कम हुँदै गएको छ।
त्यसैगरी, हस्पिटलको प्याथोलोजी सेवाअन्तर्गत होल बडी चेकअपसहित बिरामीको आवश्यकताअनुसार रगतबाट गरिने विभिन्न सम्पूर्ण जाँचहरू चौबिसै घण्टा उपलब्ध रहेको हस्पिटलले जनाएको छ।
हस्पिटलमा प्याथोलोजी सेवासँगै अन्य स्वास्थ्य सेवाहरू पनि २४ घण्टा सञ्चालनमा रहेका छन्। आकस्मिक अवस्थामा समेत बिरामीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हस्पिटलले चौबिसै घण्टा सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
विशेषज्ञ चिकित्सकको नियमित सेवा, आधुनिक स्वास्थ्य परीक्षण तथा चौबिसै घण्टा उपलब्ध स्वास्थ्य सेवाका कारण टाउन हस्पिटल पुनर्वास क्षेत्रका नागरिकका लागि सहज र भरपर्दो स्वास्थ्य उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।