
अत्तरिया-कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै मृत्यु भएकी सिन्की बोहराका आफन्त र महाकाली यातायात प्रालिबीच सहमति भएको छ। मंगलबार बेलुकी भएको छलफलपछि पीडित पक्ष र यातायात प्रालिबीच सहमति जुटेको हो।
सहमति अनुसार मृतकका आफन्तले कानुनबमोजिम क्षतिपूर्ति पाउने र दुर्घटनामा संलग्न चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए।
यसअघि मंगलबार दिउँसोभर भएको वार्तामा सहमति जुट्न नसकेपछि पीडित पक्षले बुधबारदेखि आन्दोलन तथा चक्काजाम गर्ने घोषणा गरेको थियो। तर साँझ सहमति जुटेपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको मृतकका भतिजा शिवराज बोहराले बताए।
बझाङको मष्टा गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका शिवराजका अनुसार अब आफन्तले मृतकको शव बुझ्ने तयारी गरेका छन्।
आइतबार साँझ महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले अत्तरिया बसपार्कमा पानी बेचिरहेकी बोहरालाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि प्रहरीले बससहित चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का २४ वर्षीय रोहितसिंह धामीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि आक्रोशित स्थानीय तथा पीडित पक्षले आइतबारदेखि नै प्रदर्शन गर्दै आएका थिए।
सोलुखुम्बु- हिमालसँग नजिक रहेर जीवन बिताएका ओङ्छु शेर्पाको परिचय केवल एक पर्वतारोहीको रूपमा सीमित छैन। हिमाली भूगोल, कठिन आरोहण र जोखिमपूर्ण यात्राबीच आफ्नो पहिचान बनाएका शेर्पाले पछिल्लो समय सामाजिक सेवामार्फत पनि आफूलाई फरक रूपमा स्थापित गर्दै आएका छन्।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा जन्मिएका शेर्पाको बाल्यकालदेखि नै हिमालसँगको सम्बन्ध रह्यो। हिमाल उनका लागि केवल प्रकृतिको सुन्दर दृश्य थिएन, जीवन बुझ्ने पाठशाला पनि बन्यो। आरोहणका क्रममा आउने कठिन परिस्थिति, मौसमको अनिश्चितता र जोखिमसँग जुध्दै उनले धैर्य, अनुशासन र निरन्तर प्रयासलाई आफ्नो जीवनको आधार बनाए।
पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै उनले सगरमाथासहित विभिन्न हिमाल तथा हिमशिखरको आरोहण गरेका छन्। आरोहणका क्रममा प्राप्त अनुभवले उनलाई नेपालको हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रसँग अझ गहिरोसँग जोड्दै लग्यो।
तर उनको यात्राको अर्को महत्वपूर्ण मोड भने सामाजिक सेवातर्फको सक्रियता हो।
आफूले जीवनमा प्राप्त गरेको अवसरलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराख्ने सोचका साथ शेर्पाले शिक्षा, समुदाय विकास, विपद् सहयोग तथा आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्ने काममा जोड दिँदै आएका छन्। यही उद्देश्यलाई संस्थागत रूपमा अघि बढाउन ओङ्छु शेर्पा ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन हुँदै आएको छ।
शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने, विद्यार्थीको अध्ययनमा साथ दिने तथा समुदायका आवश्यकतामा सहयोग पुर्याउने कामलाई उनले प्राथमिकतामा राखेको सार्वजनिक विवरणहरूमा उल्लेख छ।
शेर्पाको जीवनमा हिमाल र समाजसेवा दुई फरक क्षेत्रजस्तो देखिए पनि यी दुवैको आधार एउटै छ—साहस र जिम्मेवारी।
हिमाल चढ्दा आफ्नो जीवनको जोखिम लिनुपर्छ। समाजका लागि काम गर्दा पनि निरन्तरता, विश्वास र जिम्मेवारी आवश्यक हुन्छ। यही समानतालाई आफ्नो जीवनमा उतार्दै शेर्पा सामाजिक काममा सक्रिय देखिन्छन्।
उनको यात्राले एउटा महत्वपूर्ण प्रश्न पनि उठाउँछ—सफलता आखिर के हो?
धेरैका लागि सफलता धन, प्रतिष्ठा वा व्यक्तिगत उपलब्धि हुन सक्छ। तर ओङ्छु शेर्पाको यात्रालाई हेर्दा सफलता अरूको जीवनमा केही सकारात्मक परिवर्तन ल्याउन सक्नु पनि हो भन्ने सन्देश पाइन्छ।
हिमालको चुचुरोमा पुग्दा प्राप्त हुने खुसी क्षणिक हुन सक्छ। तर कसैको शिक्षामा सहयोग पुग्नु, विपद्मा परेको परिवारलाई राहत दिन सक्नु वा आवश्यकतामा परेको व्यक्तिलाई आशाको आधार बन्न सक्नुको प्रभाव लामो समयसम्म रहन्छ।
त्यसैले ओङ्छु शेर्पाको कथा केवल हिमाल आरोहणको कथा होइन। यो संघर्षबाट सिकेको पाठलाई समाजमा फर्काउने यात्राको कथा हो।
हिमालले उनलाई उचाइ नाप्न सिकायो, जीवनले मानिसको पीडा बुझ्न सिकायो र सामाजिक सेवाले आफूले पाएको अवसर अरूका लागि बाँड्न सिकायो। यही कारण उनको जीवनयात्रा नयाँ पुस्ताका लागि एउटा प्रेरणाको स्रोत बन्न सक्छ।
कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–२ चौमालास्थित श्री मालिका माध्यमिक विद्यालयमा अध्ययनरत ९८ जना विपन्न विद्यार्थीले शैक्षिक सामग्री सहयोग पाउने भएका छन्।
मुक्त कमैया, सुकुम्बासी, हलिया मुक्त, दलित तथा अति सीमान्तकृत राजी समुदायका बालबालिकाको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले श्याम फूलमाया फाउन्डेसनले स्कुल ब्यागसहित आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै फाउन्डेसनले ९८ जना विद्यार्थीका लागि सामग्री सहयोग गर्न लागेको जनाएको छ। फाउन्डेसनका अनुसार सहयोग सात वटा मुक्त कमैया शिविरबाट विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरिएको हो।
फाउन्डेसनले यो सहयोग बाह्य चन्दा वा दाताबाट प्राप्त रकमबाट नभई श्याम फूलमाया हस्तकला उद्योगबाट भएको आम्दानी तथा संस्थापक संरक्षक श्याम सार्की मङ्गरातीको व्यक्तिगत कमाइबाट गर्न लागेको जनाएको छ।
विद्यालयसँगको सहकार्य तथा समन्वयमा चक्र मल्ल, प्रधानाध्यापक रत्नप्रसाद जैसी र सामाजिक अभियन्ता लक्ष्मी कुमार बोगटीको महत्वपूर्ण भूमिका रहेको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले शिक्षा, मानवता र सामाजिक सेवामार्फत विपन्न समुदायका बालबालिकाको भविष्य निर्माणमा सहयोग गर्ने अभियानलाई आगामी दिनमा देशका ७७ वटै जिल्लासम्म विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।





