
धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडामा ‘द हेभन रिसोर्ट’ सञ्चालनमा आएको छ। शान्त, स्वच्छ तथा कोलाहलमुक्त वातावरणमा पारिवारिक सेवासहित सञ्चालनमा आएको रिसोर्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै एग्रो टुरिजम प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
रिसोर्टमा डेढ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको सञ्चालक दिपेन्द्रबहादुर सिंहले बताए। सहकारी क्षेत्रमा करिब १६ वर्ष काम गरेको अनुभव बोकेका सिंहले पर्यटन क्षेत्रमा नयाँ सम्भावना देख्दै रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र कृषि तथा पर्यटनलाई एकअर्कासँग जोड्ने उद्देश्यले व्यवसाय सुरु गरिएको उनको भनाइ छ।
हाल रिसोर्टमा करिब ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीयस्तरमा उत्पादित कृषि उपज तथा परिकारलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको बजार विस्तारमा समेत योगदान पुर्याउने प्रयास भइरहेको सिंहले बताए।
रिसोर्टलाई आगामी दिनमा थप व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ। त्यसका लागि स्विमिङ पुल, जिपलाइन, मल्टिपर्पोज हल तथा थप आवास संरचना निर्माण गर्ने योजना अघि सारिएको छ।
परिवार तथा साथीभाइसँग शान्त वातावरणमा समय बिताउन चाहनेहरूलाई लक्षित गरिएको रिसोर्टले मनोरञ्जनसँगै स्थानीय संस्कृति, उत्पादन र कृषि गतिविधिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ। पूर्वाधार विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने र जुगेडालाई धनगढी क्षेत्रको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान पुर्याउने सञ्चालक सिंहले बताए।
स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र पर्यटन विकासलाई एकैसाथ अघि बढाउने उद्देश्यले सञ्चालनमा आएको द हेभन रिसोर्टले आगामी दिनमा एग्रो टुरिजमका क्षेत्रमा नयाँ सम्भावना खोज्ने अपेक्षा गरिएको छ।
कैलाली- रसुवामा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि चैतन्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।
२०८३ भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउने उद्देश्यले चैतन्यको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिएको हो।
चैतन्यका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश प्रसाद जोशीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले राष्ट्र संकटमा परेको अवस्थामा आफूले सक्ने सहयोगमार्फत प्रभावित परिवारलाई राहत र हौसला प्रदान गर्नुपर्नेमा जोड दिए।
“विपद्को पीडा भोगिरहेका नागरिकका लागि हाम्रो सहयोग सानो हुन सक्छ, तर यसले दिने हौसला र मानवीय संवेदना ठूलो हुन्छ। यस्तो कठिन घडीमा सरकार, संघसंस्था, निजी क्षेत्र र आम नागरिक सबै मिलेर प्रभावितको उद्धार तथा राहतमा हातेमालो गर्न आवश्यक छ,” सीईओ जोशीले भने।
चैतन्यले विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउन सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।





