अत्तरिया — राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरीय गौरा एवम् तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न आमा समूहको सहभागितामा आगामी भदौ १४ गते प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता अत्तरिया उद्योग वाणिज्य संघको सभाहल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेशभरिका आमा समूहलाई सहभागी गराइनेछ। सहभागी समूहले विशुद्ध नेपाली तीज गीत प्रस्तुत गर्नुपर्नेछ भने मौलिक भेषभूषा तथा मौलिक बाजागाजालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा ४ देखि ६ जनासम्म सहभागी हुनुपर्ने तथा प्रत्येक समूहले ३ देखि ५ मिनेटसम्म प्रस्तुति दिनुपर्ने नियम रहेको छ।
प्रतियोगितामा प्रथम हुने समूहले १० हजार रुपैयाँ, द्वितीय हुनेले ७ हजार रुपैयाँ र तृतीय हुने समूहले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको उद्देश्य सुदूरपश्चिमको मौलिक लोकसंस्कृति, कला, भेषभूषा तथा परम्परागत गीत–संगीतको संरक्षण र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। आयोजकले सुदूरपश्चिम प्रदेशमा रहेका सम्पूर्ण आमा समूहलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको छ।










