काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ हजार बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले ९ वटै जिल्लामा हुने निर्वाचन लक्षित सुरक्षा चुनौती विश्लेषण गर्दै सात हजार ५८ जना प्रहरी परिचालन गर्ने जानकारी दिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९ जना निर्वाचन प्रहरी खटाइने जानकारी दिए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गर्दै सोही अनुसार व्यवस्था मिलाइएको छ । एसएसपी विष्टका अनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।
मतदान स्थलको भित्री सुरक्षामा उनीहरू परिचालन भएपनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने छ । सुदूरपश्चिम प्रदेशमा योपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।
विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलको सूचीमा राखेको छ । यी जिल्लाका मतदान स्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




