कैलाली- विद्यालय तहदेखि नै सडक सुरक्षा र ट्राफिक नियमबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले कैलालीको गौरीगंगा–६, कठौतिया–बनबेहडास्थित कैलाली भिजन स्कुलमा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
हेमा श्री फाउन्डेसन नेपालको आयोजना तथा कैलाली भिजन स्कुल र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाको सहकार्यमा भएको कार्यक्रममा विद्यार्थीलाई सडक सुरक्षा, ट्राफिक नियम, सुरक्षित यात्रा तथा दुर्घटना न्यूनीकरणका उपायबारे व्यवहारिक जानकारी दिइएको थियो।
कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख किसन चन्दले विद्यार्थीलाई प्रशिक्षण दिँदै सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, सवारीसाधनमा यात्रा गर्दा ध्यान दिनुपर्ने विषय, हेल्मेटको अनिवार्य प्रयोग, तीव्र गतिबाट हुने जोखिम तथा सडक दुर्घटनाबाट बच्ने उपायबारे जानकारी गराए।
उनले पैदलयात्रीदेखि सवारी चालकसम्म सबै सडक प्रयोगकर्ता अनुशासित हुनुपर्नेमा जोड दिँदै विद्यार्थीले विद्यालयबाट सिकेको सडक सुरक्षा ज्ञान परिवार र समुदायसम्म पुर्याउनुपर्ने बताए।
हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी ‘बाजे’ले विद्यालय तहबाटै ट्राफिक सचेतना अभिवृद्धि गर्न सके दुर्घटना न्यूनीकरणमा दीर्घकालीन योगदान पुग्ने बताए। विद्यार्थीमा विकास भएको सडक सुरक्षा चेतना परिवार हुँदै समाजसम्म विस्तार हुने उनको भनाइ थियो।
कैलाली भिजन स्कुलका प्रधानाध्यापक ध्वजबहादुर बोगटीले कार्यक्रमले विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई सुरक्षित, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उनको भनाइ थियो।
कार्यक्रममा समैजी सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष साबित्रा कुँवर, विद्यालयका लेखापाल पूर्ण बम, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता थियो।
हेमा श्री फाउन्डेसन नेपालका सदस्य सत्यराज जोशीले सञ्चालन गरेको कार्यक्रममा ‘सुरक्षित सडक, जिम्मेवार नागरिक’ भन्ने सन्देशसहित सडक दुर्घटना न्यूनीकरणका लागि सामूहिक जिम्मेवारी आवश्यक रहेकोमा जोड दिइएको थियो।











