कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–२ चौमालास्थित श्री मालिका माध्यमिक विद्यालयमा अध्ययनरत ९८ जना विपन्न विद्यार्थीले शैक्षिक सामग्री सहयोग पाउने भएका छन्।
मुक्त कमैया, सुकुम्बासी, हलिया मुक्त, दलित तथा अति सीमान्तकृत राजी समुदायका बालबालिकाको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले श्याम फूलमाया फाउन्डेसनले स्कुल ब्यागसहित आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै फाउन्डेसनले ९८ जना विद्यार्थीका लागि सामग्री सहयोग गर्न लागेको जनाएको छ। फाउन्डेसनका अनुसार सहयोग सात वटा मुक्त कमैया शिविरबाट विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरिएको हो।
फाउन्डेसनले यो सहयोग बाह्य चन्दा वा दाताबाट प्राप्त रकमबाट नभई श्याम फूलमाया हस्तकला उद्योगबाट भएको आम्दानी तथा संस्थापक संरक्षक श्याम सार्की मङ्गरातीको व्यक्तिगत कमाइबाट गर्न लागेको जनाएको छ।
विद्यालयसँगको सहकार्य तथा समन्वयमा चक्र मल्ल, प्रधानाध्यापक रत्नप्रसाद जैसी र सामाजिक अभियन्ता लक्ष्मी कुमार बोगटीको महत्वपूर्ण भूमिका रहेको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले शिक्षा, मानवता र सामाजिक सेवामार्फत विपन्न समुदायका बालबालिकाको भविष्य निर्माणमा सहयोग गर्ने अभियानलाई आगामी दिनमा देशका ७७ वटै जिल्लासम्म विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।











