अत्तरिया — ‘सबैका लागि शिक्षा’ भन्ने मूल नाराका साथ समता एजुकेसन फाउण्डेसन काठमाडौंद्वारा सञ्चालित समता स्कुलले सामाजिक भावनालाई केन्द्रमा राख्दै सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले पनि सहज रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सञ्चालनमा आएको विद्यालय अहिले आफ्नै भवनसम्मको यात्रामा पुगेको छ।
विद्यालयको यो यात्रा केवल भौतिक संरचना निर्माणको कथा होइन, दृढ इच्छाशक्ति, इमानदारी, जिम्मेवारी र महिला नेतृत्वको प्रेरणादायी उदाहरण पनि हो। अत्तरियास्थित समता स्कुलकी प्रधानाध्यापक रितु पाण्डेय शाहुको नेतृत्वमा विद्यालयले अनेकौँ चुनौती पार गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
भाडाको भवनबाट सुरु भएको विद्यालयको यात्रा सहज थिएन। सीमित स्रोतसाधन, व्यवस्थापकीय चुनौती र विभिन्न कठिन परिस्थितिका बीच पनि विद्यालयलाई निरन्तर अघि बढाउने जिम्मेवारी शाहुले सम्हालिन्। विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच समन्वय गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न निरन्तर मेहनत गरिन्।
विद्यालयको आफ्नै संरचना निर्माण गर्ने क्रममा समेत उनले थुप्रै चुनौतीको सामना गर्नुपर्यो। एक ठाउँमा विद्यालयको १२ कोठे भवन निर्माणका लागि जगसमेत हालिएको थियो। तर परिस्थितिका कारण उक्त स्थानबाट हट्नुपर्दा निर्माण कार्य अघि बढ्न सकेन। निर्माणमा भएको खर्चसमेत आफैंले व्यहोर्नुपरेको पीडा शाहुसँग छ।
“संघर्षको कहानी कति हो कति, भन्न पनि नसकिने, सुन्नेलाई पनि दिक्क लाग्ला। एक ठाउँबाट त लखेटिएकै थिएँ, जहाँ स्कुलको १२ कोठाको जग हालिएको थियो। त्यो त्यत्तिकै छोडियो, त्यसको खर्च मैले तिर्नै पर्यो,” उनी आफ्नो संघर्ष सम्झँदै भावुक हुन्छिन्।
तर त्यही कठिनाइले उनलाई रोक्न सकेन। बरु चुनौतीलाई अवसरमा बदल्दै उनी निरन्तर अघि बढिन्। भाडाको भवनबाट आफ्नै भवनसम्मको यात्रा तय गर्नु उनको व्यक्तिगत सफलता मात्र नभई विद्यालयसँग जोडिएका शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूको सामूहिक विश्वासको परिणाम पनि हो।
समता स्कुलले शिक्षालाई केवल नाफामुखी व्यवसायका रूपमा नभई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको छ। सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई समेत शिक्षाको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
विशेषगरी महिला नेतृत्वले जिम्मेवारी सम्हाल्दा विद्यालय व्यवस्थापनमा इमानदारी, अनुशासन, संवेदनशीलता र साहसलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने उदाहरणका रूपमा रितु पाण्डेय शाहुको नेतृत्वलाई लिन सकिन्छ। कठिन परिस्थितिमा पनि हार नमान्ने, समस्याबाट भाग्नुको सट्टा समाधान खोज्ने र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर अघि बढ्ने उनको कार्यशैली धेरैका लागि प्रेरणाको विषय बनेको छ।
आज समता स्कुल आफ्नै भवनमा उभिँदै गर्दा त्यसका भित्तामा केवल इँटा र सिमेन्ट मात्र छैनन्, वर्षौँको संघर्ष, त्याग, पसिना र सपनाको कथा पनि जोडिएको छ।
भाडाको भवनबाट सुरु भएको यात्रा आफ्नै भवनसम्म आइपुग्नुले एउटा महत्वपूर्ण सन्देश दिएको छ—इमानदार प्रयास, जिम्मेवारीबोध, साहस र निरन्तर संघर्षका अगाडि कठिनाइहरू पनि एक दिन हार्छन्।
रितु पाण्डेय शाहुको नेतृत्वमा समता स्कुलले तय गरेको यो यात्रा अत्तरियाको शैक्षिक क्षेत्रमा मात्र होइन, महिला नेतृत्व र सामाजिक भावनाबाट सञ्चालन हुने शिक्षण संस्थाका लागि समेत प्रेरणादायी उदाहरण बनेको छ।











