अत्तरिया-कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै मृत्यु भएकी सिन्की बोहराका आफन्त र महाकाली यातायात प्रालिबीच सहमति भएको छ। मंगलबार बेलुकी भएको छलफलपछि पीडित पक्ष र यातायात प्रालिबीच सहमति जुटेको हो।
सहमति अनुसार मृतकका आफन्तले कानुनबमोजिम क्षतिपूर्ति पाउने र दुर्घटनामा संलग्न चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए।
यसअघि मंगलबार दिउँसोभर भएको वार्तामा सहमति जुट्न नसकेपछि पीडित पक्षले बुधबारदेखि आन्दोलन तथा चक्काजाम गर्ने घोषणा गरेको थियो। तर साँझ सहमति जुटेपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको मृतकका भतिजा शिवराज बोहराले बताए।
बझाङको मष्टा गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका शिवराजका अनुसार अब आफन्तले मृतकको शव बुझ्ने तयारी गरेका छन्।
आइतबार साँझ महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले अत्तरिया बसपार्कमा पानी बेचिरहेकी बोहरालाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि प्रहरीले बससहित चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का २४ वर्षीय रोहितसिंह धामीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि आक्रोशित स्थानीय तथा पीडित पक्षले आइतबारदेखि नै प्रदर्शन गर्दै आएका थिए।











